मनास्लु आधार शिविरको आमरण अनशन स्थगित, सरकारको पहल गर्ने प्रतिबद्धता

गोरखाको मनास्लु हिमालको आधार शिविरमा युवाहरूले गर्दै आएको आमरण अनसन आइतबार स्थगित भएको छ। गण्डकी प्रदेश सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि अनसन स्थगित गरिएको हो।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलगायतका माग राख्दै चुमनुब्री गाउँपालिका–१ सामागाउँका धावा नुर्वु लामाको नेतृत्वमा युवाहरू शुक्रबारदेखि आधार शिविरमै अनसनमा बसेका थिए। चुमनुब्री गाउँपालिकाका वडा नम्बर १ र ७ का युवा अनसनमा सहभागी थिए। प्रतिबद्धता आएपछि आज अनसन स्थगित गरिएको लामाले बताउनुभएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक अपिल गर्दै छलफल र वार्ताको माध्यमबाट माग सम्बोधन गर्ने भन्दै तत्काल अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो। उठान भएका मागलाई नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी यथोचित सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको कार्यालयले जनाएको थियो।
एमक्यापले पनि अनसन फिर्ता लिई वार्ता र संवादबाट माग पूरा गर्न युवालाई आग्रह गरेको थियो। हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्नुपर्ने अनसनरत युवाको मुख्य माग रहेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


