९ असोज २०८३ English
English

प्राधिकरणका नयाँ कार्यकारी निर्देशकको शपथ: बिजुली कटौती हुन दिँदैनौँ

· १ मिनेट पढाइ
प्राधिकरणका नयाँ कार्यकारी निर्देशकको शपथ: बिजुली कटौती हुन दिँदैनौँ
तस्बिर: बिजमाण्डू

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा बिहान उनलाई शपथ ग्रहण गराएका हुन्। मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

शपथपछि प्राधिकरण पुगेर पदभार सम्हालेका श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने बताएका छन्। प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्था रहेको उनको भनाइ छ। उत्पादन र मागबीचको बढ्दो अन्तर व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य चुनौती रहेको उनले उल्लेख गरे।

वर्षायामको अतिरिक्त बिजुलीको व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको उनले जनाएका छन्। नागरिकले खोजेको गुणस्तरीय बिजुली र निरन्तर आपूर्ति नै प्राधिकरणको मुख्य लक्ष्य रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्। उत्पादनमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजना, प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा लगानी बढाउनुपर्ने उनको धारणा छ।

मन्त्री श्रेष्ठले प्रणाली बसालेर निष्ठापूर्वक काम गर्न र मन्त्रालय मातहतका निकायसँग उच्च समन्वय गर्न निर्देशन दिएका छन्। भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायममुकायम कार्यकारी निर्देशकका रूपमा गरेको कार्यसम्पादनप्रति मन्त्रीले धन्यवाद दिए।

यो समाचार भिडियोमा

प्राधिकरणका नयाँ कार्यकारी निर्देशकको शपथ: बिजुली कटौती हुन दिँदैनौँ

स्रोत

सम्बन्धित समाचार