हिउँदको विद्युत् माग व्यवस्थापनका लागि पाँच सदस्यीय समिति

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरको संयोजकत्वमा समिति बनाएको हो। समितिमा आयोजना व्यवस्थापन निर्देशनालयकी प्रबन्धक दीपा श्रेष्ठ र काठमाडौं ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठ सदस्य छन्।
सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई पनि समितिमा सदस्य राखिएको छ। बैठकमा आयोजना व्यवस्थापन तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख र आयोजना प्रमुखको सहभागिता थियो। समितिलाई हिउँदको माग र आपूर्ति व्यवस्थापनसम्बन्धी आवश्यक अध्ययन गरी कार्ययोजना बनाउने जिम्मा दिइएको छ।
दैनिक प्रगति विवरण सिधै कार्यकारी निर्देशकलाई बुझाउन र कामका क्रममा देखिने व्यावहारिक तथा प्राविधिक समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले त्यस क्षेत्रका जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि उत्पादन बन्द भएको छ। प्राधिकरणका अनुसार बाढीपछि करिब ४३१ मेगावाट बिजुलीको उत्पादन रोकिएको छ।
हिउँदमा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा विद्युत् माग बढ्ने भएकाले प्राधिकरणले अहिलेदेखि नै तयारी थालेको हो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


