एसियाली खेलकुद सफ्ट टेनिस: नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

जापानमा जारी २०औँ एसियाली खेलकुदको सफ्ट टेनिसमा नेपाली पुरुष टोलीले दक्षिण कोरियासँग ३–० ले हार बेहोरेको छ। टिम इभेन्टको यो प्रतिस्पर्धा शुक्रबार, असोज २ गते नागोया सिटीको हिगासियामा पार्क टेनिस सेन्टरमा भएको थियो। पहिलो खेलका रूपमा भएको पुरुष डबल्समा कोरियाली जोडी ह्युङयोन लि र जेक्यु पार्कले कमल भण्डारी र प्रदीप खत्रीलाई ५–० ले हराएको थियो।
उक्त खेल करिब ११ मिनेटमै टुंगिएको थियो। त्यसपछिको पुरुष एकलमा ब्रिजेश पाण्डे कोरियाका किम जिनयोङसँग सोझो सेटमा ४–० ले पराजित हुनुभयो। पाण्डेले पहिला तीन सेट क्रमशः ४–२, ४–० र ४–१ ले गुमाउनुभएको थियो।
लगातार दुई खेल हारेपछि नतिजामा असर नपार्ने तेस्रो खेलमा नेपालले कोरियालाई बाइ दिएको थियो। यो नतिजासँगै सफ्ट टेनिसको पुरुष टिम इभेन्टमा नेपालको अभियान सकिएको छ। नेपाली महिला भलिबल टोली पनि यसअघि समूह चरणमा खेलेका दुई खेलमा पराजित भइसकेको छ।
सफ्ट टेनिसका खेल एसियाडको औपचारिक उद्घाटनअघि नै सुरु गरिएका हुन्। आइची–नागोया एसियाडको उद्घाटन समारोह शनिबार, असोज ३ गते पालोमा मिजुहो रङ्गशालामा हुँदै छ। यस संस्करणमा नेपालले २१ खेलमा सहभागिता जनाएको छ।
नेपालबाट कुल १३५ खेलाडी पदकका लागि प्रतिस्पर्धा गर्दै छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

