निलम्बन नहटे सोमबारदेखि आफ्ना गतिविधि सुरु गर्ने एन्फाको चेतावनी
अखिल नेपाल फुटबल संघ, एन्फाले निलम्बन फुकुवाबारे सरकारले ठोस निर्णय नगरे सोमबार, असोज ५ गतेदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने चेतावनी दिएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो। 'शनिबारसम्म सरकारबाट सकारात्मक जवाफ आए हामी अझै आगामी साफ प्रतियोगितामा सहभागी हुन सक्छौँ, नत्र अवस्था गम्भीर बनिसकेकाले सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्छौँ,' तुलाधरले भन्नुभएको छ।
उहाँका अनुसार एन्फा एकेडेमीमा बसेर प्रशिक्षण लिइरहेका बाल खेलाडीको पढाइ र आवाससम्बन्धी समस्या झन् जटिल बन्दै गएको छ। एकेडेमीका बालबालिकालाई खानामा समेत समस्या परिरहेको उहाँले बताउनुभएको छ। एकेडेमीका खेलाडीको भविष्य नै जोखिममा परेकाले सरकारले तत्काल कदम चाल्नुपर्ने तुलाधरको माग छ।
निलम्बन हटाउने दिशामा सरकारले लिने जुनसुकै पहलमा एन्फाले पूर्ण साथ दिने उहाँले स्पष्ट पार्नुभएको छ। तर कुनै प्रगति नभए फिफाका नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाइने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

