९ असोज २०८३ English
English

राष्ट्रव्यापी सीप तथा रोजगार मेला, इटहरीबाट सुरुआत

· १ मिनेट पढाइ
राष्ट्रव्यापी सीप तथा रोजगार मेला, इटहरीबाट सुरुआत
तस्बिर: नागरिक

कोशी प्रदेशको इटहरीमा आगामी असोज १४ गतेदेखि सीप तथा रोजगार मेला सुरु हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार मेला असोज २० गतेसम्म चल्नेछ। युवा, श्रम तथा रोजगारमन्त्रीको संयोजकत्वमा बिहीबार बसेको निर्देशन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी देशभर यस्ता मेला आयोजनाको तयारी थालेको जनाएको छ। रोजगार प्रवर्द्धन दशकअन्तर्गत इटहरीबाट सुरु हुने यो कार्यक्रमलाई क्रमशः अन्य प्रदेशमा विस्तार गर्दै राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ। युवा जनशक्तिको ऊर्जा र सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाको समन्वय र सहकार्यमा मेला सञ्चालन हुनेछ। यसमार्फत सीप, रोजगारी, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर बढाउने उद्देश्य राखिएको छ। मेलाका लागि आवश्यक वित्तीय, प्राविधिक तथा जनशक्ति सहयोग सरोकारवाला निकायबाट जुटाइने मन्त्रालयले जनाएको छ।

सहकार्य, समन्वय र सुरक्षा व्यवस्थापनका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेशका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग पत्राचार गरिनेछ।

स्रोत

सम्बन्धित समाचार