बूढीगण्डकी बाढी अपडेट: आरुघाटमा सेनाले बेलिब्रिज जोड्न थाल्यो, एक दर्जन खानेपानी आयोजनामा क्षति

गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरबाटो पुल बूढीगण्डकीको बाढीले भाँचेपछि नेपाली सेनाले त्यहाँ बेलिब्रिज जडानको तयारी सुरु गरेको छ। आइतबार बिहान आएको लेदोसहितको बाढीले तीन स्पान भएको पुलको एउटा भाग बगाएपछि आरुघाट बजार र धादिङबेसीबीचको सडक सम्पर्क टुटेको छ। सेनाले डोजर लगाएर लेदो हटाइरहेको छ भने बेलिब्रिजका सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याइँदै छ।
सामग्री आइपुग्नेबित्तिकै काम थालिने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताउनुभएको छ। बाढीले आरुघाटको खानेपानी पाइपलाइन पनि बगाएकाले स्थानीयको आवतजावत, व्यापार र अत्यावश्यक सामानको ढुवानी प्रभावित भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले करिब एक दर्जन खानेपानी आयोजनामा क्षति पुर्याएको छ।
त्रिपुरासुन्दरी, ज्वालामुखी, गङ्गाजमुना र सिद्धलेक गाउँपालिकाका विभिन्न वडामा पानी आपूर्ति प्रभावित भएको छ। गोरखाको शान्तिबजारमा बाढीको दोस्रो लहरले घर र टहरा बगाएको स्थानीयले बताएका छन्। त्यहाँका बासिन्दा भागेर माथिल्लो क्षेत्रमा सरेका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–२ स्याउली बजारका प्रभावित परिवारले चुलिदेवी माध्यमिक विद्यालयमा आश्रय लिएका छन्, जहाँ खाना र बासको व्यवस्था गरिएको छ। आरुघाट बजारमा सुरक्षाकर्मी खटाइएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


