बूढीगण्डकी बाढी अपडेट: चुम उपत्यकाका पर्यटक सुरक्षित, पदयात्रा अस्थायी रूपमा स्थगित

आइतबार बूढीगण्डकी नदीमा आएको बाढीले पुल र पदमार्ग बगाएपछि गोरखाको चुम उपत्यकामा पुगेका पर्यटक अलपत्र परेका छन्। पदयात्रामा रहेका स्वदेशी र विदेशी सबै पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। आयोजनाका अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन्।
सार्दीभिरको क्यान्टिलिभर झोलुङ्गे पुल पूरै बगेपछि माछाखोलादेखि जगत र सल्लेरीतर्फको पदमार्ग अवरुद्ध भएको छ। माछाखोलादेखि जगतसम्मका धेरै ठाउँमा पदमार्गमा क्षति पुगेको छ। आयोजनाले चुम उपत्यका पदयात्रा अस्थायी रूपमा रोकेको छ।
बाढी प्रभावित क्षेत्रमा अड्किएकालाई सरकारको सहयोगमा उद्धार गरिँदै छ। नेपाली सेनाको हेलिकप्टरले सोमबार बिहानैदेखि उद्धार गरिरहेको स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताउनुभएको छ। उद्धारका लागि हेलिकप्टरले उडान अनुमति लिनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभएको छ।
शर्माका अनुसार आपत्कालीन अवस्थामा पर्यटकलाई उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ, नत्र सरकारले आफ्नै तालिकाअनुसार उद्धार गर्नेछ। छेकम्पारका होटल व्यवसायी दोर्जे लामाका अनुसार कतै जान नपाएका पर्यटकमध्ये केही भिसाको म्याद सकिने चिन्तामा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


