बक्स अफिस: प्रदर्शनरत नौ नेपाली फिल्ममा 'गौँथली' अगाडि

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार प्रदर्शनरत नौ नेपाली फिल्ममध्ये 'गौँथली' कमाइमा सबैभन्दा अगाडि छ। डा. कपिल रिजाल निर्देशित यो फिल्मले साउन १ गतेदेखि आइतबारसम्म करिब २६ करोड २ लाख रुपैयाँ कुल कमाइ गरेको छ।
बोर्डका अनुसार यसका करिब ९ लाख ४५ हजार टिकट बिक्री भएका छन्। अबको करिब १२ दिनमा यो फिल्मले प्रदर्शनको सय दिन पूरा गर्नेछ। पछिल्लो समय यसको शो सङ्ख्या र दर्शक भने घटेका छन्।
भदौ २६ गते प्रदर्शनमा आएको माओत्से गुरुङ निर्देशित 'पेन्सन पट्टा' करिब ९ करोड ८९ लाख रुपैयाँ कमाउँदै दोस्रो स्थानमा छ। असोज ९ गतेदेखि प्रदर्शित 'बाः एक योद्धा' करिब ३ करोड ५ लाख रुपैयाँसहित तेस्रो र 'बेहुली' झन्डै ३ करोड रुपैयाँसहित चौथो स्थानमा छन्। 'बाः एक योद्धा' सँगै प्रदर्शनमा आएको निखिल उप्रेती अभिनीत 'आचार्य' ले करिब १ करोड ६२ लाख, 'झिँगे दाउ २' ले करिब १ करोड ४६ लाख र 'एलिफेन्ट्स इन द फग' ले करिब १ करोड ३२ लाख रुपैयाँ कमाएका छन्।
पछिल्लो समय प्रदर्शनमा आएका 'चमेलीको पोइ' ले करिब ५ लाख र गत शुक्रबार प्रदर्शनमा आएको 'चुंगुल' ले करिब १ लाख ३८ हजार रुपैयाँ मात्र कमाएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


