९ असोज २०८३ English
English

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको घोषणा

· १ मिनेट पढाइ
चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको घोषणा
तस्बिर: इमेजखबर

नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सरकारविरुद्ध देशव्यापी सशक्त आन्दोलन सुरु गर्ने घोषणा गर्नुभएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आन्दोलन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध लक्षित हुने बताउनुभएको छ। एमालेसहित अन्य दलको सहभागितामा मधेशदेखि देशका सबै भागमा आन्दोलन अघि बढ्ने उहाँको भनाइ छ।

बस्नेतले उक्त आन्दोलनले वर्तमान सरकारलाई पराजित गर्ने दाबी गर्नुभएको छ। सरकार गठन भएको पाँच–छ महिनामै यसको वास्तविक रूप जनताले चिन्न थालेको र सरकारप्रतिको भ्रम पनि हट्दै गएको उहाँको तर्क छ। एमालेलाई कमजोर ठानी खोज्न टर्च बाल्नुपर्ने बताउनेहरू गलत बुझाइमा रहेको उहाँले बताउनुभएको छ।

पार्टीको जनआधार सकिएको भन्ने भाष्य प्रायोजित भएको र विपक्षीले सामाजिक सञ्जालको सहारामा यस्तो प्रचार गरेको उहाँको आरोप छ। सामाजिक सञ्जालको अल्गोरिदम प्रयोग गरी एमालेलाई कमजोर देखाउन 'झोले' र 'मासुभात' जस्ता भाष्य योजनाबद्ध रूपमा फैलाइएको बस्नेतको आरोप छ। यस्तो षड्यन्त्र लामो समय नटिक्ने उहाँको दाबी छ।

गाउँबस्तीमा अझै एमाले नै जनताको विश्वास र आशाको केन्द्र रहेको र भविष्यमा पनि मुलुकको नेतृत्व एमालेले गर्ने उहाँले दाबी गर्नुभएको छ। विपक्षीको आलोचनाको निसानामा एमाले रहनुले नै पार्टीको शक्ति देखाउने उहाँको भनाइ छ।

यो समाचार भिडियोमा

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको घोषणा

स्रोत

सम्बन्धित समाचार