परिवारसँग टीका थाप्न नपाउनेहरू, टीकाकै दिन विमानस्थलमा बिदेसिनेको भीड

टीकाको दिन आज पनि अत्यावश्यक सेवामा खटिएका र विदेश जाने धेरै नेपालीले परिवारसँग बसेर टीका थाप्न पाएका छैनन्। स्वास्थ्य, सुरक्षालगायत सेवा रोक्न नमिल्ने भएकाले त्यस्ता क्षेत्रमा काम गर्नेहरू स्वदेशमै भए पनि घर जान सकेका छैनन्। अरूको दसैँ सहज र सुरक्षित बनाउन सुरक्षा निकायमा खटिनेहरू आफैँ टीकाबाट वञ्चित हुन्छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार प्रहरी सेवामा रहेका करिब ९० प्रतिशतले टीकाका लागि घर जान पाउँदैनन्। सर्वसाधारणले सुरक्षित रूपमा चाड मनाउन पाऊन् भनेर प्रहरीले परिवारसँग टीका लगाउन नपाउने अवस्था वर्षौँदेखि दोहोरिँदै आएको उहाँले बताउनुभएको छ। संवेदनशील जिल्लामा अन्यत्रबाट थप सुरक्षाकर्मी पनि पठाइन्छ।
कतिपय नेपाली कामको व्यस्तता वा घरबाट टाढा भएकाले पनि टीका थाप्न पाउँदैनन्। यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका बिदेसिने यात्रुको चहलपहल देखिएको छ। रोजगारी, अध्ययन र भविष्य बनाउने उद्देश्यले उनीहरू चाडकै दिन परिवारबाट बिदा भएर विदेशतर्फ लागेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


