डीडीसीको थप घिउ र याक चिज दुबई निर्यात

दुग्ध विकास संस्थान, डीडीसीको घिउ र याक चिजको थप खेप संयुक्त अरब इमिरेट्सको दुबई पुगेको छ। यसपटक करिब १ हजार ५ सय किलो घिउ र करिब १ सय ५० किलो याक चिज पठाइएको छ। दसैँ र तिहारको चाडबाडलाई लक्ष्य गरेर नेपाली दुग्धजन्य उत्पादनको यो खेप पठाइएको हो।
रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार परीक्षणका लागि पहिले पठाइएको उत्तिकै परिमाणको घिउले बजारमा राम्रो प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको हो। उहाँका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत ३ वटा बिक्री केन्द्रबाट नेपाली उत्पादन ग्राहकसम्म पुर्याइँदै आएको छ। ती केन्द्र सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनमा छन्।
डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले दुबई बजारको माग र उपभोक्ताको प्रतिक्रिया हेरेर निर्यात विस्तार गर्ने योजना रहेको बताउनुभएको छ। विदेशी उपभोक्तालाई ध्यानमा राखेर घिउको बट्टामा नेपाली, अङ्ग्रेजी र अरबी भाषामा विवरण राखिएको छ।
डीडीसीले यसअघि जापानलगायतका मुलुकमा पनि नेपाली घिउ निर्यात गरिसकेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

