९ असोज २०८३ English
English

गण्डकी बेसिनका जलविद्युत् आयोजना उच्च सतर्कतामा, कुलेखानी बाँध खोलिने खबर गलत

· १ मिनेट पढाइ
गण्डकी बेसिनका जलविद्युत् आयोजना उच्च सतर्कतामा, कुलेखानी बाँध खोलिने खबर गलत
तस्बिर: Onlinekhabar English

भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनका सबै जलविद्युत् आयोजनालाई उच्च सतर्कतामा राखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्छ। पोखरामा वर्षाको सम्भावना १०० प्रतिशत छ।

विद्युत् विकास विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका दुवै थरी आयोजनामा सतर्कता अपनाइएको बताउनुभएको छ। प्राधिकरणले आफ्ना सबै आयोजनालाई मौसमको जानकारी निरन्तर लिएर सुरक्षाका उपाय अपनाउन निर्देशन दिएको छ। निजी क्षेत्रतर्फ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले समन्वय गरिरहेको छ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले बिहीबार बेलुकी प्राधिकरण सञ्चालक समितिको बैठकमा भोटेकोशी बाढीबाट पाठ सिकेर मौसम प्रणालीको निरन्तर जानकारी लिनुपर्नेमा जोड दिनुभएको थियो। यता, कुलेखानी बाँध खोल्न लागिएको भन्ने खबर गलत भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदाम लामाले बताउनुभएको छ। उहाँले पुराना तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलाएर भ्रम नछर्न आग्रह गर्नुभएको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलसतह करिब १ हजार ५२२ मिटरमा छ र तीनै युनिटबाट पूर्ण क्षमतामा उत्पादन गरिएको छ। जलसतह करिब १ हजार ५२७ मिटर पुगेमा सर्वसाधारणलाई सचेत गराउन साइरन बजाइने व्यवस्था छ।

यो समाचार भिडियोमा

गण्डकी बेसिनका जलविद्युत् आयोजना उच्च सतर्कतामा, कुलेखानी बाँध खोलिने खबर गलत

स्रोत

सम्बन्धित समाचार