९ असोज २०८३ English
English

रसुवागढी नाका पुनः सञ्चालनका लागि सरकारले चीनको सहयोग माग्यो

· १ मिनेट पढाइ
रसुवागढी नाका पुनः सञ्चालनका लागि सरकारले चीनको सहयोग माग्यो
तस्बिर: रातोपाटी

भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको रसुवागढी नाका पुनः सञ्चालनका लागि सरकारले चीनसँग सहयोग मागेको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शुक्रबार सिंहदरबारमा चिनियाँ राजदूत झाङ माओमिङसँग भेटेर यो आग्रह गर्नुभएको छ। भदौ १० गतेको बाढीपछि स्याफ्रुबेसीबाट रसुवागढीतर्फ आवतजावत हुन सकेको छैन।

मन्त्री लम्सालले उक्त सडकखण्ड तत्काल खोल्न चीनको सहयोग आवश्यक रहेको बताउनुभएको छ। उहाँले करिब ६ लाख नागरिकको राज्यसँगको सम्पर्क र आवतजावत सहज बनाउन तथा कोरला र तातोपानी नाका प्रभावकारी रूपमा चलाउन पनि सहयोग माग्नुभएको छ। काठमाडौँदेखि रसुवागढी हुँदै केरुङ नाकासम्मको दीर्घकालीन सडकका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन बनाउने र ट्र्याक खोल्ने विषय पनि मन्त्रीले उठाउनुभएको छ।

तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक र यातायातको व्यवस्था मिलाउन सरकारले दिनरात काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ। भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण र सम्पर्क विस्तारका विषयमा पनि छलफल भएको छ। राजदूत झाङले नेपालको राहत, उद्धार र पुनर्निर्माणमा चीनले सहयोग गरिरहेको बताउनुभएको छ।

यो समाचार भिडियोमा

रसुवागढी नाका पुनः सञ्चालनका लागि सरकारले चीनको सहयोग माग्यो

स्रोत

सम्बन्धित समाचार