९ असोज २०८३ English
English

ल्यान्डफिल साइटमा पहिरो, फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ल्यान्डफिल साइटमा पहिरो, फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह
तस्बिर: थाहाखबर

लगातारको वर्षाले ल्यान्डफिल साइट क्षेत्रमा पहिरो गएपछि काठमाडौँ महानगरपालिकाले नगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार फोहोर ढुवानी गर्ने सडक र सिसडोलस्थित ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको छ। यसले फोहोर बोकेका गाडीलाई साइटसम्म पुग्न र फोहोर विसर्जन गर्न कठिन बनाएको छ।

त्यसैले नियमित सङ्कलन र ढुवानी केही समय प्रभावित हुने महानगरले जनाएको छ। सङ्कलन प्रभावित हुने अवधि भने अहिले नै तोकिएको छैन। सङ्कलन सुचारु नहुँदासम्म घर, पसल र व्यवसायबाट निस्कने फोहोर आफ्नै परिसरभित्र सुरक्षित राख्न भनिएको छ।

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न पनि महानगरले सुझाव दिएको छ। सडक, चोक, सार्वजनिक स्थल, खुला ठाउँ र खोलानालामा फोहोर नफाल्न अनुरोध गरिएको छ। जथाभावी फोहोर फाल्दा ढल र नाला थुनिएर वर्षाका बेला बाढी र डुबानको जोखिम बढ्न सक्ने महानगरको भनाइ छ।

वर्षा रोकिएर ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर सङ्कलन र ढुवानी पुनः नियमित गरिने महानगरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँमा मेघगर्जनसहित मध्यम वर्षा हुने र वर्षाको सम्भावना ९० प्रतिशत रहेको पूर्वानुमान गरेको छ। भोलि पनि बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यो समाचार भिडियोमा

ल्यान्डफिल साइटमा पहिरो, फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

स्रोत

सम्बन्धित समाचार