फिफा निलम्बन लम्बिँदा घरेलु फुटबल पनि ठप्प

फिफाको निलम्बन लम्बिँदै जाँदा नेपालको घरेलु फुटबल गतिविधिसमेत प्रभावित भएको अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एन्फाका महासचिव किरण राईले संघलाई स्वायत्त रूपमा काम गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत जुन २४ मा एन्फालाई निलम्बन गरेको थियो।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले असार १२ गते पत्र पठाउँदै संघको खाता, वेबसाइट, सामाजिक सञ्जाल, सवारीसाधन र महत्त्वपूर्ण कागजात परिषद्को स्वीकृतिमा मात्र प्रयोग गर्न निर्देशन दिएको एन्फाको भनाइ छ। निलम्बनका कारण फिफा सिरिज महिला प्रतियोगिता, नेपाल–हङकङ महिला मैत्रीपूर्ण खेल तथा एएफसीका यु–१७ र यु–२० एसियन कप छनोटमा नेपालको सहभागिता गुमेको छ। निलम्बन फुकुवा नभए आगामी साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीको सहभागिता जोखिममा पर्ने एन्फाले उल्लेख गरेको छ।
संघका अनुसार तिर्न बाँकी दायित्व करिब १० करोड रुपैयाँ पुगेको छ भने खेलाडी र कर्मचारीको पारिश्रमिक रोकिएको छ। अवस्था व्यवस्थापनबारे सरकारले स्पष्ट निर्देशन दिनुपर्ने महासचिव राईको भनाइ छ। आफूहरू निलम्बनमा परेको, विघटन नभएको उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

