एनपीएलमा श्रीलंकाका असलंका विराटनगर किंग्सबाट

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ। बायाँहाते ब्याटिङ अलराउन्डर २९ वर्षीय असलंका सन् २०२१ देखि श्रीलंकाको राष्ट्रिय टोलीका नियमित सदस्य छन्। उनले सोही वर्ष इंग्ल्यान्डविरुद्ध एकदिवसीय र भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए।
टी–२० अन्तर्राष्ट्रियको पहिलो खेलमै उनले २६ बलमा ४४ रन जोडेका थिए। टी–२० अन्तर्राष्ट्रियमा उनले ७७ खेलबाट एक हजार ४६६ रन बनाएका छन् भने सात विकेट लिएका छन्। समग्र टी–२० क्रिकेटमा १८५ खेलमा तीन हजार ७१५ रन र ३७ विकेट उनको नाममा छ।
सन् २०२१ को टी–२० विश्वकपमा ६ खेलबाट २३१ रन बनाउँदै उनी श्रीलंकातर्फ सर्वाधिक रन जोड्ने ब्याटर बनेका थिए। सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय शतक प्रहार गरेपछि उनी मध्यक्रमका भरपर्दो ब्याटरका रूपमा स्थापित भए। सन् २०२४ देखि उनले श्रीलंकाको सीमित ओभर टोलीको नेतृत्व गर्दै आएका छन्।
असलंकाको आगमनले टोली थप बलियो हुने विश्वास विराटनगर किङ्सले व्यक्त गरेको छ। क्यारेबियन प्रिमियर लिग, लंका प्रिमियर लिग, पाकिस्तान सुपर लिग र इन्टरनेसनल लिग टी–२० खेलेको अनुभव उनीसँग छ। एनपीएलको तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि काठमाडौंमा सुरु हुने तालिका छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

