९ असोज २०८३ English
English

प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनमा एमालेभित्रै असहमति

· १ मिनेट पढाइ
प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनमा एमालेभित्रै असहमति
तस्बिर: अनलाइनखबर

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय पार्टीका लागि आत्मघाती र विनाशकारी हुन सक्ने बताउनुभएको छ। ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन बुधबार धारणा राख्दै उहाँले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा रहेको पुनर्स्थापना आन्दोलनसम्बन्धी वाक्यांश फिर्ता लिन माग गर्नुभयो। निर्वाचनमा भाग नलिएको भए यस्तो माग जायज हुन सक्ने तर चुनावमा सहभागी भई पराजित भएको आठ महिनापछि यो विषय उठाउनु राजनीतिक नैतिकता र औचित्यका दृष्टिले अनुचित हुने उहाँको तर्क छ।

पार्टीको घट्दो जनमत र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले पार्टी यथास्थितिमै अघि बढ्न नसक्ने बताउनुभयो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सर्वसम्मत प्रतिवेदन बैठकमा पेस नगरिनु केन्द्रीय कमिटीप्रतिको अवमूल्यन भएको उहाँले बताउनुभएको छ। सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि यो मुद्दा असान्दर्भिक भइसकेको बताउनुभएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब एमालेलाई जनताबीच पुनःस्थापित गर्नुपर्ने उहाँको भनाइ छ। अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी रहेको कार्कीले उल्लेख गर्नुभयो। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको प्रतिवेदनलाई केन्द्रीय सदस्यहरूको पृष्ठपोषणसहित परिमार्जन गरी स्पष्ट कार्यदिशासहित अघि बढाउनुपर्ने उहाँको सुझाव छ।

बैठकमा सचिव महेश बस्नेतले भने पुरानो संसद् पुनर्स्थापनाको पक्षमा उभिँदै सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

यो समाचार भिडियोमा

प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनमा एमालेभित्रै असहमति

स्रोत

सम्बन्धित समाचार