कांग्रेस पालिका अधिवेशन: काठमाडौं महानगरको सभापतिमा वैद्य

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत देशभरका पालिकामा अधिवेशन प्रक्रिया सुरु भएको छ। ५८ जिल्लाका करिब ५१२ पालिकामा बुधबार उद्घाटन तथा बन्द सत्रसँगै निर्वाचन भएको र बाँकी करिब २४१ पालिकामा असोज ८ र ९ गते प्रक्रिया जारी रहने कांग्रेसले जनाएको छ। अधिकांश पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।
काठमाडौं महानगरपालिका समितिको सभापतिमा सुसन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ। पेसाले आर्किटेक्ट इन्जिनियर वैद्य यसअघि महानगर समितिका सचिव हुनुहुन्थ्यो। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ बाह्रौं र तेह्रौं महाधिवेशनबाट काठमाडौं जिल्ला सदस्य निर्वाचित हुनुभएको थियो।
चौधौं महाधिवेशनबाट भने उहाँ महानगर समितिको सचिवमा अत्यधिक मतसहित निर्वाचित हुनुभएको थियो। भरतपुर महानगर समितिको सभापतिमा बुद्दिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ भने उपसभापतिमा मित्रनिधि तिवारी र सचिवमा सुमित पराजुली चुनिनुभएको छ। न्यौपानेले निकटतम प्रतिद्वन्द्वी ज्योती प्रसाद कँडेललाई पराजित गर्नुभएको हो।
हेटौँडा उपमहानगर समितिको सभापतिमा रामकृष्ण कोइराला साँघुरो मतान्तरले विजयी हुनुभएको छ। अछामको मङ्गलसैन नगरपालिकामा हेमराज भण्डारीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ। भारी वर्षाको पूर्वानुमान रहेकाले अधिवेशनका क्रममा सतर्कता अपनाउन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्देशन दिनुभएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


