९ असोज २०८३ English
English

१८ वर्ष नपुगेका प्रतिनिधिको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो

· १ मिनेट पढाइ
१८ वर्ष नपुगेका प्रतिनिधिको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
तस्बिर: नागरिक

नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नभएका व्यक्तिको पार्टी सदस्यता र प्रतिनिधित्व कायम नहुने स्पष्ट पारेको छ। पन्ध्रौं महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित सुजल चापागाईंको जिम्मेवारी केन्द्रीय निर्वाचन समितिले स्थगन गरेको हो। कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनसहितको धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।

नागरिकताको विवरणअनुसार चापागाईंले आगामी २०८३ माघ १८ गते मात्र १८ वर्ष पूरा गर्ने देखिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। उमेर पूरा भएपछि चाहेमा मात्र उहाँको पार्टी सदस्यता कायम हुने समितिले जनाएको छ। चापागाईं ३५ वर्षमुनिको युवा कोटाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिनुभएको थियो।

उमेर नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसले मातहतका निकायलाई निर्देशन दिएको छ। अन्य जिल्लाका वडा अधिवेशनमा पनि उमेर नपुगेका व्यक्ति निर्वाचित भएको पाइएमा यही प्रक्रिया लागू हुने समितिले स्पष्ट पारेको छ। इलाममा २१ वर्षमुनिका अन्य युवा पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको राजधानी दैनिकले जनाएको छ।

यो समाचार भिडियोमा

१८ वर्ष नपुगेका प्रतिनिधिको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो

स्रोत

सम्बन्धित समाचार