९ असोज २०८३ English
English

वाम एकतामा हतार नगर्न माधव नेपालको सुझाव

· १ मिनेट पढाइ
वाम एकतामा हतार नगर्न माधव नेपालको सुझाव
तस्बिर: नागरिक

वामपन्थी शक्तिबीच हतारमा एकता गर्दा भविष्यमा पछुताउनुपर्ने भन्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिपक्व सहकार्यको बाटो रोज्नुपर्ने बताउनुभएको छ। बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँगको ‘नागरिक फ्रन्टलाइन’ संवादमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली, संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य वामपन्थी घटकसँग सहकार्यका लागि संवाद जारी रहेको जानकारी दिनुभयो। एकता सम्भव भएको ठाउँमा एकता, नभए सहकार्य र त्यो पनि नभए कार्यगत मोर्चा बनाउने विकल्प रहेको उहाँले उल्लेख गर्नुभयो।

विचार र मन नमिलेसम्म जबर्जस्ती एकता गर्दा फेरि दुर्घटना हुने भन्दै विगतबाट पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो। पार्टी संरचना सुदृढ बनाउन अनुभवी पुराना, परिपक्व प्रौढ र ऊर्जावान् युवा समेटिने ‘थ्री–इन–वान’ पुस्तान्तरण मोडल उहाँले अघि सार्नुभएको छ। राजनीतिमा पनि प्रकृतिमा आउने बाढीजस्तै उथलपुथल आउने र त्यस्तो बेला स्थापित शक्ति कमजोर बन्ने उहाँको टिप्पणी छ।

जेनजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मागलाई उहाँले जायज भन्नुभएको छ। वर्तमान सरकारले अनुभवी दल र नेतासँग परामर्श नगरेको आरोप लगाउँदै उहाँले सपथको दिन बधाई दिएयता प्रधानमन्त्रीसँग भेट हुन नसकेको सुनाउनुभयो। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङको अवलोकन गर्नुभएका उहाँले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ।

यो समाचार भिडियोमा

वाम एकतामा हतार नगर्न माधव नेपालको सुझाव

स्रोत

सम्बन्धित समाचार