एमाले केन्द्रीय कमिटीबाट ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकको तेस्रो दिन प्रतिवेदन पारित भएको हो। अध्यक्ष ओलीले बैठकको पहिलो दिन करिब ७८ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो।
केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासा र सुझावबारे ओलीले स्पष्ट पारेपछि प्रतिवेदन पारित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त, उपमहासचिवहरू लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठसहित सचिवहरूले धारणा राखेका थिए। आयोग अध्यक्ष भरत पहारीलगायतले पनि बैठकमा बोल्नुभएको थियो।
जिज्ञासाको जवाफ दिने क्रममा ओलीले पार्टी पुनर्गठन र विशेष महाधिवेशन आवश्यक नरहेको बताउनुभएको छ। महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएको एक वर्ष नपुगेको उल्लेख गर्दै उहाँले राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने समय पनि नभएको बताउनुभयो। आफूविरुद्ध विभिन्न खालका षड्यन्त्र भइरहेको दाबी गर्दै महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई कसैले हटाउन नसक्ने उहाँले बताउनुभयो।
उमेरका आधारमा टिप्पणी गर्नेहरूलाई उहाँले आफूजस्तै खटेर काम गरी देखाउन चुनौती दिनुभएको छ। बैठकमा नेतृत्व फेरबदलभन्दा पार्टी एकता र सङ्गठनात्मक सुधारमा केन्द्रित हुनुपर्ने मत बलियो देखिएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


