बेलकोटगढीको पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सकिएपछि जाली राखेर आवतजावत पूर्ण रूपमा खुला गरिएको हो। मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले बाढी प्रभावित क्षेत्रमा पुल मर्मत र पुनर्निर्माणलाई तीव्रता दिइएको बताउनुभएको छ।
उहाँका अनुसार धादिङ, नुवाकोट र गोरखामा पर्ने अन्य १२ वटा झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान, केउरेनी–गहते, चिरौंदी खोला, शीतलबजार–क्युरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाटका पुल एक साताभित्र सञ्चालनमा आउने तयारी छ। बाढीबाट क्षति पुगेका थप सात झोलुङ्गे पुलको मर्मत पनि सुरु भइसकेको छ।
ती पुलका लागि आवश्यक स्टिल पार्ट्स जुटाउने काम विभागले अघि बढाएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


