२० असोज २०८३ English
English

पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

YouTube मा सब्स्क्राइब

जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ भने कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले उल्लेख गरेको छ।

काठमाडौँ, पोखरा र नेपालगञ्जमा वर्षाको सम्भावना ४० प्रतिशत छ। काठमाडौँको तापक्रम १६, पोखराको १९ र नेपालगञ्जको २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ। विराटनगर, जनकपुर र वीरेन्द्रनगरमा भने वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।

जनकपुरमा बिहान हुस्सु लाग्ने अनुमान छ। भोलि देशभर साधारणतया बादल लाग्ने र पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। भोलि हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात पनि हुन सक्नेछ।

असोज १७ गते नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकीको पश्चिमी भू-भागका थोरै स्थानबाट मनसुन बाहिरिसकेको छ। पूर्वी भू-भागमा भने मनसुनी वायु अझै कायम छ। मौसमविद् विनु महर्जनले आगामी तीन दिन केही स्थानमा वर्षा भए पनि लामो समय लगातार झरी नपर्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार