९ असोज २०८३ English
English

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि घले दम्पतीको ठूलो सहयोग

· १ मिनेट पढाइ
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि घले दम्पतीको ठूलो सहयोग
तस्बिर: सेतोपाटी

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उहाँकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि दीर्घकालीन सहयोग गर्ने घोषणा गरेको छ। फाउन्डेसनका अनुसार यसअन्तर्गत करिब ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गरिनेछ।

यसका लागि फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनमा सहयोग गरिनेछ। बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास र कपडालगायत आधारभूत आवश्यकता पूरा गर्न रकम खर्च हुने जनाइएको छ।

बाढीबाट प्रत्यक्ष प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराउन लागिएको फाउन्डेसनले जनाएको छ। बाढीको पानी घटे पनि प्रभावित बालबालिकाको समस्या अन्त्य नभएको घलेले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ। बाढीका कारण कतिपय बालबालिकाको जीवनमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ।

आफू र आफ्नी पत्नी ती बालबालिका तथा उनीहरूका परिवारको अवस्थाबाट प्रभावित भएको उहाँले उल्लेख गर्नुभएको छ। यो सहयोग रकममा मात्र सीमित नरहने र बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा शिक्षामा पहुँच कायम राख्न पहल गरिने फाउन्डेसनले बताएको छ। सहयोगले प्रभावित बालबालिकालाई विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार भिडियोमा

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि घले दम्पतीको ठूलो सहयोग

स्रोत

सम्बन्धित समाचार