९ असोज २०८३ English
English

साझाको रात्रिकालीन सेवा विस्तार: ६ रुटमा २८ विद्युतीय बस

· १ मिनेट पढाइ
साझाको रात्रिकालीन सेवा विस्तार: ६ रुटमा २८ विद्युतीय बस
तस्बिर: नागरिक

साझा यातायातले काठमाडौं उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि ६ रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले हालको रात्रिकालीन सेवालाई करिब चार गुणा विस्तार गरेको हो। साझा यातायातका अनुसार चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा बस चल्नेछन्।

बुढानीलकण्ठ–गोदावरी र जगाती–रत्नपार्क–ठमेल रुटमा ६–६ वटा तथा विमानस्थल–नागढुंगा र कीर्तिपुर–जमल रुटमा ४–४ वटा बस सञ्चालन हुनेछन्। यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट रुटमा ४ र लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बस निरन्तर चल्नेछन्। रात्रिकालीन बस सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्ने कम्पनीले जनाएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुई रुटमा ७ वटा बसमार्फत सेवा सुरु गरिएको थियो। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गरिने कम्पनीले जनाएको छ। काठमाडौं महानगरपालिकाले रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि विशेष कार्यदल गठन गरेको थियो।

कार्यदलको सिफारिसका आधारमा सेवाको दायरा थप गरिएको हो। रिङरोडसहित भक्तपुरदेखि पर्यटकीय केन्द्र ठमेलसम्म जोडिएपछि उपत्यकाको ठूलो हिस्सा रात्रिकालीन यातायात सञ्जालमा जोडिने अपेक्षा गरिएको छ। रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गरी सेवा विस्तार गरिएको हो।

यो समाचार भिडियोमा

साझाको रात्रिकालीन सेवा विस्तार: ६ रुटमा २८ विद्युतीय बस

स्रोत

सम्बन्धित समाचार