भारतबाट थप ११ टन राहत सामग्री नेपाल आइपुग्यो

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि भारतले पठाएको थप राहत सामग्री नेपाल आइपुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार करिब ११ टन अत्यावश्यक सामग्री नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ। सामग्रीसहितको सहायता शनिबार नेपाल आइपुगेको हो।
हस्तान्तरण गरिएका सामग्रीमा औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइका सामग्री र स्लिपिङ ब्याग रहेका छन्। भारतका विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिनुभएको छ।
नेपालको पुनरुत्थानमा सहयोग जारी राख्ने भारतीय पक्षले उल्लेख गरेको छ। बाढीपछि राहत सामग्री लिएर नेपाल आएको भारतीय वायुसेनाको यो नवौँ विशेष उडान हो। भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतले अगस्ट २६ देखि नेपालका लागि मानवीय सहायता बोकेका विशेष उडान सञ्चालन गर्दै आएको छ।
शुक्रबार नयाँ दिल्लीमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा रसुवाको बाढीपछिको उद्धार तथा राहत कार्यमा भारतले गरेको सहयोगप्रति वाग्लेले धन्यवाद दिनुभएको थियो। दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि भेटमा छलफल भएको थियो।
भारतको प्रेस इन्फर्मेसन ब्युरो र डीडी न्युजले पनि सामग्री नेपाल आइपुगेको जानकारी सार्वजनिक गरेका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


