९ असोज २०८३ English
English

आईसीसी एकदिवसीय बलिङ वरीयतामा ललित राजवंशी र सन्दीप लामिछानेको सुधार

· १ मिनेट पढाइ

नेपालका स्पिन बलर ललित राजवंशी र सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय बलिङ वरीयतामा माथि उक्लिएका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरीयतामा मङ्गलबारसम्म खेलिएका खेलको प्रदर्शनलाई आधार मानिएको छ। बायाँ हाते स्पिनर राजवंशी ५ स्थान उक्लेर ४०औँ स्थानमा पुगेका छन्।

नयाँ सूचीमा उनको रेटिङ अंक ५०९ पुगेको छ। लेग स्पिनर लामिछाने ३ स्थान सुधार गर्दै ४६औँ स्थानमा आइपुगेका छन् भने उनको रेटिङ अंक ४९१ रहेको छ। गत शनिबार सम्पन्न एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कपमा गरेको प्रदर्शनका कारण दुवैको वरीयतामा सुधार आएको छ।

उक्त प्रतियोगिताको सेमिफाइनलमा ओमान र फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ। ती दुवै खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता दिइएको छ। राजवंशीले ती दुवै खेलमा २–२ विकेट लिएका छन् भने लामिछानेले ओमानविरुद्ध ३ र यूएईविरुद्ध १ विकेट लिएका छन्।

प्रतियोगिताभर नेपाली बलिङ आक्रमणमा यी दुई स्पिनरले प्रमुख भूमिका निर्वाह गरेका छन्।

स्रोत

सम्बन्धित समाचार