फ्लाई दुबईको पहिलो नियमित उडान पोखरामा अवतरण

फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। दुबईबाट उडेको बोइङ ७३७ म्याक्स जहाज बुधबार साँझ पोखरामा अवतरण गरेपछि पानीको फोहराले स्वागत गरिएको थियो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पहिलो उडानबाट करिब १ सय १३ यात्रु पोखरा आएका थिए भने सोही जहाज करिब १ सय ५३ यात्रु लिएर दुबई फर्किएको छ।
स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन क्षेत्रका प्रतिनिधि विमानस्थलमा उपस्थित थिए। करिब तीन वर्षअघि सञ्चालनमा आएको यस विमानस्थलबाट अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाई दुबईले अब पोखरा–दुबई दैनिक नियमित उडान गर्ने महाप्रबन्धक निरौलाले जानकारी दिनुभएको छ।
इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने यो सेवाले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ। नेपाल आयल निगमले पोखरा विमानस्थलको नयाँ हवाई इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय उडानलाई इन्धन वितरण गरेको छ। निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार उक्त जहाजमा करिब ५ हजार ५ सय ४० लिटर इन्धन भरिएको थियो।
पोखराका होटल व्यवसायीले पहिलो उडानका यात्रुलाई छुट र निःशुल्क बासको घोषणा गरेका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


