बाढीप्रभावितका लागि जापानको खाद्य सहायता, डब्लुडब्लुएफको सहयोग

रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले एक करोड ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
बाढीप्रभावित समुदाय अझै सम्पर्कविहीन रहेको र सडक तथा सञ्चार पूर्वाधारमा क्षति पुगेको भन्दै कोषले ती बस्तीमा पहुँच पुनःस्थापित गर्न सरकारको प्रयासमा सहयोग गर्ने डा. गुरुङले बताउनुभएको छ। त्यस्तै जापान सरकारले बाढीप्रभावितलाई आपत्कालीन खाद्य सहायता पुर्याउन संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मार्फत करिब १० लाख अमेरिकी डलर सहयोग दिएको छ।
यो रकमबाट रसुवा, नुवाकोट र धादिङका बासिन्दालाई राहत सामग्री पुर्याइने र सरकारको नेतृत्वमा भइरहेको राहत कार्यमा ढुवानी तथा भण्डारण सहयोग जारी राखिने जनाइएको छ। नेपालका लागि जापानी राजदूत माइदा तोरुले प्रभावित नागरिकलाई समयमै र समन्वयात्मक सहायता पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। यता काठमाडौँ मोडेल माध्यमिक विद्यालय बागबजारले बाढीपीडित परिवारको सहयोगार्थ करिब २३ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
उक्त रकममा विद्यालयको संस्थागत योगदानसँगै शिक्षक, कर्मचारी र विद्यार्थीबाट सङ्कलित सहयोग समेटिएको छ। विद्यार्थी कमिटीका प्रतिनिधिमार्फत शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेललाई चेक हस्तान्तरण गरिएको हो। विद्यालयले बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन शैक्षिक सहयोगको योजना पनि अघि सारेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


