९ असोज २०८३ English
English

भिसाको उद्देश्यविपरीत काम गर्ने ८८ विदेशी निष्कासनको प्रक्रियामा

· १ मिनेट पढाइ
भिसाको उद्देश्यविपरीत काम गर्ने ८८ विदेशी निष्कासनको प्रक्रियामा
तस्बिर: नागरिक

भिसामा उल्लेख भएको उद्देश्यविपरीत काम गरेको भन्दै अध्यागमन विभागले ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। विभागका अनुसार उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिबाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको छ। ती नागरिक सिन्धुलीको मरिण गाउँपालिका–४ साहानमा निर्माणाधीन जियान फुड्स प्रालिअन्तर्गतको नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्टमा कार्यरत थिए।

चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले बन्दै गरेको उक्त परियोजनामा छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको जनाइएको छ। नेपालमा व्यापारिक तथा औद्योगिक लगानीको अनुमति लिएका उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर काम गरिरहेको अनुगमनबाट देखिएको विभागले जनाएको छ। सम्बन्धित निकायसँगको समन्वयमा गरिएको अनुगमनका क्रममा विदेशी नागरिक भिसा लिँदा उल्लेख गरेको व्यवसाय वा लगानीसँग सम्बन्धित कामभन्दा फरक प्रकृतिको रोजगारी र श्रममा संलग्न भेटिएका हुन्।

विभागले उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई आवश्यक स्वीकृति र उपयुक्त भिसाबिना विदेशी नागरिकलाई काममा नलगाउन सचेत गराएको छ। विदेशी नागरिकले भिसाको उद्देश्य, सर्त र कानुनी प्रावधानअनुसार मात्र नेपालमा गतिविधि गर्नुपर्ने विभागले आग्रह गरेको छ। प्रचलित कानुनविपरीत गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

यो समाचार भिडियोमा

भिसाको उद्देश्यविपरीत काम गर्ने ८८ विदेशी निष्कासनको प्रक्रियामा

स्रोत

सम्बन्धित समाचार