नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता र उद्योगीलाई नेपालमा लगानीका अवसर खोज्न र विस्तार गर्न आह्वान गर्नुभएको छ। भारतीय उद्योग परिसंघ, सीआईआईले नयाँदिल्लीको इन्डिया ह्याबिट्याट सेन्टरमा आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रियामा बोल्दै उहाँले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय भएको बताउनुभएको छ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री वाग्लेले नेपालमा पहिल्यैदेखि सञ्चालित भारतीय कम्पनीलाई लगानी बढाउन र नयाँ उद्योगपतिलाई पनि नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार स्वच्छ ऊर्जा, डिजिटलीकरण, वेलनेस पर्यटन, उत्पादन क्षेत्र र उच्च मूल्यका कृषि उपज नेपाली अर्थतन्त्रको बलियो आधार बन्दै गएका छन्। उहाँले नेपाललाई केवल बिक्रीको थलो नठानी लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति शृङ्खलामा रणनीतिक साझेदारको नजरले हेर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ।
लगानी सहजीकरण, सुशासन र आर्थिक समृद्धि सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले बजेट तथा कर प्रणालीमा नीतिगत सुधार गरिएको जानकारी दिनुभएको छ। भ्रमणकै क्रममा सीआईआई मुख्यालयमा परिसंघकी अध्यक्ष डा. सुचित्रा के.
इलाको अध्यक्षतामा भारतीय उद्योगपतिसँग राउन्ड टेबल छलफल पनि तय गरिएको छ। सो छलफलमा अर्थमन्त्रीले कानुनी स्थिरता, लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितताबारे नेपाल सरकारको दृष्टिकोण राख्ने कार्यक्रम छ। परिसंघका अनुसार छलफलमा आईटीसी इन्डियाका अध्यक्ष तथा सीआईआईका पूर्वअध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


