पानी रोकियो, काठमाडौँ उपत्यकाको जनजीवन सामान्य हुँदै

दुई दिनसम्म लगातार परेको पानी शनिबार बिहानदेखि रोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य हुन थालेको छ। बिहीबार र शुक्रबार देशका अधिकांश भागमा परेको भारी वर्षाले उपत्यकामा सडक यातायात, दैनिक कामकाज र व्यापार सुस्त बनाएको थियो। शनिबार बिहान उपत्यकाका विभिन्न स्थानमा घाम लागेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी भूभागमा शुक्रबार रातिदेखि नै वर्षा घटेको छ। काठमाडौँमा भने आज साँझ वा राति फेरि पानी पर्न सक्ने तर भारी वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभएको छ। विभागका अनुसार आज काठमाडौँमा वर्षाको सम्भावना ६० प्रतिशत छ र तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहनेछ।
भारतको उत्तर छत्तीसगढ र उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ सर्दै आगामी १२ घण्टामा कमजोर हुने सम्भावना छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। पोखरा, नेपालगञ्ज र वीरेन्द्रनगरमा वर्षाको सम्भावना शतप्रतिशत रहेको विभागले जनाएको छ।
भोलि लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। विभागले केही स्थानमा अझै छिटपुट वर्षा हुन सक्ने जनाएको छ। दुई दिनको वर्षाले जमिन गलेको र नदीनालाको बहाव फेरिन सक्ने भन्दै विभागले स्थानीयलाई विशेष सतर्क रहन आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


