विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दीर्घायुकुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो निर्णयको जानकारी दिनुभएको छ। तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थाको अध्यादेश, २०८३ अनुसार पदमुक्त हुनुभएको थियो।
त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत वैशाखमा वरिष्ठताका आधारमा उहाँलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको थियो। करिब ४ महिना निमित्त भएर काम गरेपछि उहाँले पूर्ण जिम्मेवारी पाउनुभएको हो। श्रेष्ठले सन् १९९७ मा भार प्रेषण केन्द्रमा इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा सुरु गर्नुभएको थियो।
उहाँ ग्रिड सञ्चालन विभाग तथा काठमाडौँ, हेटौँडा र अत्तरिया क्षेत्रीय कार्यालयको प्रमुख भइसक्नुभएको छ। निमित्तको जिम्मेवारी पाउनुअघि उहाँ प्रसारण निर्देशनालय र वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशक हुनुहुन्थ्यो। श्रेष्ठले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


