नेप्से ३६ अंकले ओर्लियो, कारोबार रकम पनि खुम्चियो

नेपाल स्टक एक्सचेन्जको परिसूचक बुधबार ३६ दशमलव २५ अंकले घटेको छ। नेप्सेका अनुसार लगातार तीन दिनको बढोत्तरीपछि परिसूचक १ दशमलव ३६ प्रतिशतले ओरालो लाग्दै २ हजार ६१८ दशमलव ०३ बिन्दुमा बन्द भएको छ। कारोबार रकम पनि खुम्चिएको छ।
अघिल्लो दिन करिब ७ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार करिब ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको जनाइएको छ। दिनभर ३५२ कम्पनीका करिब २ करोड १६ लाख कित्ता सेयर ५७ हजारभन्दा बढी पटकमा खरिदबिक्री भएका छन्। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ऋणात्मक बनेको छ, जसमध्ये जीवन बीमा समूह सर्वाधिक २ दशमलव ०४ प्रतिशतले घटेको छ।
बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र लघुवित्तसहितका समूह एक प्रतिशतभन्दा बढीले घटेका छन्। २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ को घटेको छ र दुई स्थिर छन्। धौलागिरी लघुवित्तको मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रोफाइनान्सको मूल्य ८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहँदै करिब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सरकारले भदौ २९ गते पुँजीबजार पुनरुत्थान कार्ययोजना ल्याएपछि बजार उकालो लागेको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


