पोखराको फिर्के खोला किनारमा फेरि डोजर, ५६ संरचना भत्काइँदै

पोखरा महानगरपालिकाले फिर्के खोला किनारमा बनेका संरचना भत्काउने अभियान बिहीबारदेखि फेरि सुरु गरेको छ। गत जेठमा थालिएको अभियान कानुनी प्रक्रिया, पुनः नापजाँच र वर्षाका कारण रोकिएको थियो। तीन पटक पत्राचार गर्दा पनि संरचनाधनीले निर्देशन नमानेपछि बाँकी संरचना हटाउन थालिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताउनुभएको छ।
२०८० सालको नापजाँच प्रतिवेदनले खोला क्षेत्रमा करिब १६० संरचना पहिचान गरेको थियो। तीमध्ये करिब १०४ अस्थायी र केही पक्की संरचना पहिल्यै हटाइएका छन्। खोलाको बहाव क्षेत्रमै रहेका करिब ५६ पक्की तथा संस्थागत संरचना अझै बाँकी छन्।
बाँकी संरचनामा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घर परेकाले नापजाँच र कानुनी काम मिलाउन ढिलाइ भएको जनाइएको छ। पहिले भत्काइएका कतिपय घरमा अझै मानिस बसिरहेका छन्। चालु आर्थिक वर्षभित्रै खोला क्षेत्रका सबै संरचना हटाउने योजना रहेको महानगरको पर्यटन तथा सहरी विकास महाशाखाले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


