नयाँ विद्युतीय प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरु, मधेशका ३ हजार ८१ लाइसेन्स पहिलो चरणमा

साउन १ गतेदेखि लागू भएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छाप्ने काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले छपाइमा लामो समयदेखि देखिएको समस्या र सेवाग्राहीको बढ्दो चाप कम गर्न यो प्रणाली प्रयोगमा ल्याएको हो। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ अनुमतिपत्र छापिएका छन् र ती वितरणका लागि हुलाकबाट सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पुगेका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिनुभएको छ। सेवाग्राहीको विवरण प्रणालीमार्फत सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट छापिएका अनुमतिपत्र हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। प्रदेश सरकारले चाहेमा सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैं छपाइ गर्न सक्ने व्यवस्था छ।
सोहीअनुसार मधेश प्रदेश सरकारले सम्झौता गरेर आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गरिरहेको छ। सम्झौता नगर्ने प्रदेशको हकमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा छपाइ हुने विभागले जनाएको छ। प्रदेशअनुसार छपाइको जिम्मेवारी बाँडफाँट गर्दै सेवाग्राहीलाई समयमै अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ।
नयाँ अनुमतिपत्र लिने र नवीकरण गर्ने प्रक्रिया छिटो तथा सहज हुने मन्त्रालयको विश्वास छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


