डिजिटल रूपान्तरणलाई शासन र राष्ट्र निर्माणसँग जोड्नुपर्छ: मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सेवा आधुनिकीकरणमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका बेला समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। ललितपुरमा आइतबार आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
विपद् तथा सङ्कटका बेला पनि नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार दिन सक्ने गरी उत्थानशील र दिगो डिजिटल प्रणाली बनाउन सरकारले जोड दिएको उहाँले जनाउनुभयो। रसुवाको भोटेकोशी जलाधार क्षेत्रमा आएको बाढीले समुदाय र भौतिक पूर्वाधारमा क्षति पुर्याएकै बेला देशको सूचना प्रणाली, सञ्चार सञ्जाल र संस्थागत समन्वयको तयारी पनि परीक्षणमा परेको उहाँको भनाइ छ। अघिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई सुविधा र दक्षतासँग मात्र जोडेर हेरिएको भए पनि हालैको विपद्को अनुभवले प्रणालीको निरन्तरता, विश्वसनीयता र सङ्कटमा काम गर्ने क्षमतालाई समान प्राथमिकता दिनुपर्ने देखाएको उहाँले उल्लेख गर्नुभयो।
सङ्कटको समयमा सूचनालाई पूर्वाधारसरह र सञ्चारलाई यातायातसरह महत्त्वपूर्ण ठान्नुपर्ने तथा भरपर्दो तथ्याङ्क नै निर्णयको आधार बन्ने उहाँले बताउनुभयो। उहाँले डिजिटल रूपान्तरणलाई प्रविधिको विषयमा मात्र नभई राष्ट्र निर्माणको परियोजनाका रूपमा हेर्नुपर्ने स्पष्ट पार्नुभयो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


