परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले यो शाखा खडा गरिएको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। बढ्दो जलवायु परिवर्तन र त्यसले पारिरहेको प्रभावलाई मध्यनजर गर्दै अहिलेको आवश्यकताअनुसार शाखा स्थापनाको निर्णय भएको हो।
मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहेको ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनामा यसलाई राखिएको छ। शाखाको नेतृत्व उपसचिवले गर्नेछन्। नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ।
परराष्ट्रमन्त्री खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन र कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन तथा संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन कोपमा मात्र केन्द्रित भएर जलवायु कूटनीति अघि बढ्न नसक्ने बताउँदै मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर शाखा खडा गरिएको स्पष्ट पार्नुभएको छ। नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सहभागिता जनाउँदै आएको छ।
मन्त्री खनालले आवश्यकता र कार्यबोझका आधारमा भविष्यमा यसको संस्थागत संरचना थप सुदृढ गर्न सकिने बताउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


