२० असोज २०८३ English
English

ऋणको चर्को ब्याजले नेपाल वायुसेवा निगम संकटमा, ब्याजदर पुनरावलोकनको तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ऋणको चर्को ब्याजले नेपाल वायुसेवा निगम संकटमा, ब्याजदर पुनरावलोकनको तयारी

YouTube मा सब्स्क्राइब

नेपाल वायुसेवा निगमको ऋण व्यवस्थापनका लागि ब्याजदर पुनरावलोकनबारे सरकारले परामर्श गरिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले यसबारे जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा उहाँ बोल्दै हुनुहुन्थ्यो।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको छ। यी ऋणको ब्याज र किस्ता भुक्तानी व्यावहारिक बनाउन प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल भइरहेको मन्त्री पौडेलले बताउनुभएको छ। यी दुई ठूला संस्थाको ऋणलाई व्यवस्थापन गर्नै नसकिने भन्न नमिल्ने उहाँको भनाइ छ।

दुवै संस्थामा आम जनता र कर्मचारीको बचत रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। निगमका अधिकारीहरूका अनुसार सञ्चय कोषको ऋणमा करिब सवा ९ प्रतिशत ब्याज तिर्नुपरेको छ। नागरिक लगानी कोषको ऋणमा भने करिब साढे १० प्रतिशत ब्याज लागेको छ।

राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालीन उद्धार र विभिन्न उद्धार उडानबापत सरकारबाटै करिब पौने १४ करोड रुपैयाँ उठ्न बाँकी छ। निजी बैंकबाट सस्तो ब्याजमा ऋणको प्रस्ताव आएको छ। तर सञ्चय कोषको ऋण नचुकाएसम्म त्यो लिन मिल्दैन।

सोही समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पनि आफ्नो धारणा राख्नुभएको छ। टालटुले सुधारले निगम नउक्सिने भन्दै उहाँले संस्थागत पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ। विगतका आयोग र कार्यदलका प्रतिवेदन कार्यान्वयन निराशाजनक रहेको उहाँले स्वीकार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार