जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण, सञ्चारमन्त्रीको टिप्पणी

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चार पत्रकारलाई प्रदान गरिएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार नेपाल टेलिभिजनमा भएको समारोहमा विजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो।
गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका बेला जोखिम उठाउँदै घटनास्थलबाटै प्रत्यक्ष समाचार सम्प्रेषण गर्ने हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल र कान्तिपुरका श्याम श्रेष्ठ सम्मानित हुनुभएको छ। नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाललाई पर्यावरण संरक्षणसम्बन्धी जोखिमपूर्ण रिपोर्टिङका लागि सम्मान गरिएको छ। पुरस्कार पाउनेलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको हो।
जोखिम मोलेर गरिने रिपोर्टिङले सत्यतथ्य बाहिर ल्याए पनि पत्रकारले आफ्नै सुरक्षामा सचेत हुनुपर्ने मन्त्री तिमिल्सिनाले बताउनुभएको छ। राज्यले पत्रकारको सुरक्षाका लागि नीतिगत काम गरिरहेको उहाँको भनाइ छ। नेपाली पत्रकारिताको साख कमजोर बन्दै गएको र पछिल्लो समय यस क्षेत्रको व्यावसायिकतामाथि प्रश्न उठ्ने गरेको उहाँले उल्लेख गर्नुभयो।
पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको गरिमा जोगाउने दायित्व प्रत्येक पत्रकारकै रहेको उहाँको भनाइ छ। कुनै अमुक संस्थाले पत्रकारिताको ठेक्का लिएर हिँडेको भन्दै त्यस्तो संस्थाले यो क्षेत्रको संरक्षण गर्न नसकेको आरोप उहाँले लगाउनुभएको छ। सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेयता यस क्षेत्रका समस्या सुधार्न लागिपरेको उहाँको दाबी छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

