९ असोज २०८३ English
English

प्रधानमन्त्रीको राष्ट्रसङ्घ सम्बोधनमा दलहरूको मिश्रित प्रतिक्रिया

· १ मिनेट पढाइ
प्रधानमन्त्रीको राष्ट्रसङ्घ सम्बोधनमा दलहरूको मिश्रित प्रतिक्रिया
तस्बिर: नेपाल प्रेस

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गरेको सम्बोधनप्रति दलहरूबाट प्रशंसा र प्रश्न दुवै आएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीको सम्बोधन कुनै एक दलको नभई देशको प्रतिनिधित्व गर्ने भएकाले त्यसै रूपमा हेरिनुपर्ने बताउनुभएको छ। सम्बोधनका विषय भ्रमणअघि कांग्रेसले दिएको सुझावअनुकूल रहेको उहाँको भनाइ छ।

तर परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा राखेका आँकडा फरक पर्दा राम्रो सन्देश नजाने उहाँले औँल्याउनुभएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले युद्ध, हतियार व्यापार र जलवायु न्यायका विषय नेपालले निरन्तर उठाउनुपर्ने मुद्दा भएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको छ। एमाले नेता गोकुल बाँस्कोटाले आफू रास्वपा समर्थक नभए पनि सम्बोधन दृढ र जोडदार लागेको सामाजिक सञ्जालमा लेख्नुभएको छ।

सत्तारूढ रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्रीले जलवायु सङ्कटको गम्भीरता विश्वसामु प्रभावकारी ढङ्गले राखेको बताउनुभएको छ। उहाँले यो सम्बोधनलाई सुरुआत मात्र भन्दै यहीँ टुङ्गिने विषय नभएको उल्लेख गर्नुभएको छ। जेन–जी नेता रवि किरण हमालले विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखले नेपालको प्रतिनिधित्व गर्नु युवाका लागि सुखद रहेको बताउनुभएको छ।

उहाँले उठाइएका मुद्दालाई अब ठोस कूटनीति र आर्थिक विकासमा बदलेर परिणाम देखाउनुपर्नेमा जोड दिनुभएको छ।

यो समाचार भिडियोमा

प्रधानमन्त्रीको राष्ट्रसङ्घ सम्बोधनमा दलहरूको मिश्रित प्रतिक्रिया

स्रोत

सम्बन्धित समाचार