९ असोज २०८३ English
English

दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी

· १ मिनेट पढाइ
दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी
तस्बिर: रातोपाटी

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दसैँ र तिहारपछि सरकारविरुद्ध सडक आन्दोलन सुरु गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। संयोजक दाहालले नयाँ भनिएको सरकारले किसान, मजदुर, सुकुमबासी, विद्यार्थी, बुद्धिजीवी र ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभएको छ।

दमनविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने र त्यसको तयारी भइरहेको उहाँको भनाइ छ। संसद्भित्र सबै प्रतिपक्षी दललाई एकै ठाउँमा ल्याइसकिएको र त्यहाँ संयुक्त रूपमा आवाज उठाइने उहाँले बताउनुभएको छ। आन्दोलनको तयारीका क्रममा विभिन्न दल, बुद्धिजीवी तथा नागरिक समाजसँग लगातार छलफल चलिरहेको र त्यो सकारात्मक दिशातर्फ अघि बढेको उहाँले जानकारी दिनुभएको छ।

चाडपर्वपछि देशको परिस्थिति हेरेर नयाँ आन्दोलन थालिने बताउँदै उहाँले नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गर्नुभएको छ। सरकारका कदमले जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको र स्थापित राजनीतिक दलप्रति आकर्षण बढ्न थालेको दाबी पनि उहाँले गर्नुभएको छ। सोही कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक सङ्कटमा परेको भन्दै गणतन्त्र, संविधान र सङ्घीयताको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार