कांग्रेसका ४ जिल्ला सभापतिको जिम्मेवारी खोसियो, शनिबारदेखि वडा अधिवेशन

नेपाली कांग्रेसले अधिवेशन प्रक्रिया अघि बढाउन नमानेका ४ जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ। निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिएका बागलुङका जित शेरचन, मुगुका ऐनबहादुर शाही, कञ्चनपुरका पदम बोगटी र डोटीका नरेन्द्रबहादुर सिंह यसमा पर्नुहुन्छ। उहाँहरूलाई सभापति पदबाट भने हटाइएको छैन।
ती जिल्लामा अधिवेशन गराउने जिम्मेवारी बागलुङमा तारानाथ पौडेल, मुगुमा हरिजङ्ग शाही, कञ्चनपुरमा हरिचन्द्र राना र डोटीमा नारायणबहादुर बलायरलाई दिइएको छ। बझाङका सभापति खड्कबहादुर बोहराले भने अधिवेशनको काम अघि बढाउन सहमति जनाएकाले उहाँलाई जिम्मेवारीमै राखिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। पार्टीले यिनै ४ सहित ५ जिल्लाका सभापतिलाई क्रियाशील सदस्यताबापत उठेको रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न पत्र पनि पठाएको छ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार, अर्थात् असोज ३ र ४ गते देशभर वडा अधिवेशन हुँदै छ। पुस २०८२ मसान्तसम्म सदस्यता नवीकरण गरेका क्रियाशील सदस्य आफ्नो वडाको अधिवेशनमा सहभागी हुनेछन्। वडा अधिवेशनले सभापति, १ महिलासहित २ उपसभापति, सचिव र सहसचिव चुन्नेछ।
महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। यसैबीच पूर्वउपसभापति धनराज गुरुङले पनि सभापति गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णय गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


