९ असोज २०८३ English
English

एमाले पुनर्गठन कार्यदलका दुई प्रतिवेदन मिलेनन्, नेता ओलीसँग छलफल गर्न गुन्डुमा

· १ मिनेट पढाइ

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलभित्रका दुई फरक प्रतिवेदनलाई एउटै बनाउने प्रयास सफल हुन सकेको छैन। कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा 'बादल' र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार पार्नुभएको छ। शनिबार र आइतबार काभ्रेपलाञ्चोकको बल्थलीमा बसेको कार्यदलको आवासीय बैठकले दुवै प्रतिवेदन मिलाउन थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पोखरेल रहेको तीन सदस्यीय सम्पादन समिति बनाएको थियो।

समितिलाई दुवै प्रतिवेदनका साथै अन्य नेताहरूका सुझाव समेटेर साझा मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ। बुधबार अपराह्न च्यासलस्थित पार्टी कार्यालयमा तीन नेताबीच करिब २ घण्टा छलफल भए पनि प्रतिवेदन एउटै बनाउने विषयमा सहमति जुट्न सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनको भाषा र विषयवस्तुमा सहमति जुटाउन बुधबार नै तीनै नेतालाई भक्तपुरको गुन्डुस्थित निवासमा बोलाउनुभएको थियो।

संयोजक थापा ओलीसँग छलफल गर्न गुन्डु पुग्नुभएको छ। पार्टी स्रोतका अनुसार पौडेल र पोखरेल भने गुन्डु जानुभएको छैन। उहाँहरूले आफ्नो कुरा प्रतिवेदनबाटै राख्ने जनाउ ओलीलाई दिनुभएको छ।

मूल विषयमै मतभेद कायम रहेकाले संयोजक थापाले बिहीबारको कार्यदल बैठक नबोलाउने भएपछि उक्त बैठक अनिश्चित बनेको छ।

स्रोत

सम्बन्धित समाचार