काट्न तयार धानमा कीराको प्रकोप, वर्षाको पूर्वानुमानले किसान चिन्तित

काट्ने बेलामा पुगेको धानबालीमा कीराको प्रकोप देखिँदा पूर्वी नेपालका किसान चिन्तित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश खेतमा स्थानीय भाषामा लाई कीरा भनिने कीराले धानको फेद बिगारेको किसानले बताएका छन्। फेद कमजोर भएपछि बोट ढल्ने, बाला सुक्ने र पराल पनि खेर जाने गरेको स्थानीय किसान धनबहादुर थापाले बताउनुभएको छ।
अघिल्ला वर्ष यस्तो समस्या नदेखिएको र यसपालि उत्पादन घट्ने चिन्ता रहेको उहाँको भनाइ छ। सुनसरीको इनरुवा नगरपालिका–९ लगायत ठाउँमा धानमा गभारो, पतेरो र ब्लास्ट रोग देखिएको छ। त्यहाँ पात सुक्ने, पातमा दाग देखिने र बोट कमजोर हुने समस्या देखिएको किसान सुरेन्द्र यादवले बताउनुभएको छ।
किसानले आफ्नै खर्चमा विषादी किनेर छर्नुपरेको गुनासो गरेका छन्। यसैबीच, बङ्गालको खाडीमा बनेको प्रणालीका कारण बुधवारदेखि करिब चार दिन देशका धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही ठाउँमा भारीदेखि अति भारी वर्षा र हिमाली क्षेत्रमा उच्च हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।
त्यसैले नेपाल कृषि अनुसन्धान परिषद्ले किसानलाई मङ्गलवारभित्रै धान काटिसक्न वा पानी रोकिएपछि मात्र काट्न आग्रह गरेको छ। काटेको धान एक घाम सुकाउन वा फिँजाएर राख्न सकिने अवस्थामा मात्र काट्न परिषद्ले सुझाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


