कृष्णभीरको दीर्घकालीन समाधान: सुरुङ वा भायाडक्ट, दुई महिनामा अध्ययन प्रतिवेदन

सरकारले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा बारम्बार हुने पहिरो र यातायात अवरोधको स्थायी समाधानका लागि सुरुङमार्ग वा भायोडक्ट बनाउने विकल्पबारे प्राविधिक अध्ययन सुरु गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सडक विभागका महानिर्देशक डा. विजय जैशीले यसबारे जानकारी गराउनुभएको छ।
महानिर्देशक जैशीका अनुसार जोखिमपूर्ण भिरभित्रबाट सुरुङ खनेर पार गर्ने वा भिरअगाडि खम्बामाथि भायोडक्ट उभ्याएर सडक जोड्ने विकल्पहरू अध्ययनमा छन्। प्राविधिक प्रतिवेदन करिब २ महिनामा आउने र त्यसलगत्तै निर्माणको ठेक्का लगाउने विभागको तयारी रहेको उहाँले बताउनुभएको छ। सोही बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभिर बाहिरबाट सामान्य देखिए पनि फेदको भाग कटान हुँदा पहिरो निकै जटिल बनेको बताउनुभएको छ।
जटिल भूगोल भएका त्यस्ता ठाउँमा भू–प्राविधिक विज्ञको सहयोग लिएर सडक विभागले काम अघि बढाएको उहाँको भनाइ छ। पुरानै जोखिमपूर्ण ठाउँमा स्थायी सडक नबनाइने मन्त्री लम्सालले स्पष्ट पार्नुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


