दसैँ नजिकिँदा आन्तरिक हवाई भाडा महँगो, संसद्मा सरकारको ध्यानाकर्षण

दसैँ नजिकिँदै गर्दा आन्तरिक उडानको भाडा अस्वाभाविक रूपमा बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सोमबारको बैठकमा उहाँले बाढीपहिरोले सडक अवरुद्ध हुँदा सुदूरपश्चिम पुग्ने विमानको टिकट झनै महँगिएको गुनासो गर्नुभएको छ। सदनलाई आन्तरिक उडानका यात्रुझैँ सम्बोधन गर्दै उहाँले विमानभन्दा छिटो भाडा आकाशिएकाले सिट पेटी बाँध्नुपर्ने व्यंग्य गर्नुभएको छ।
विमानमा आपत्कालीन ढोका भए पनि महँगो भाडाबाट उम्कने बाटो नभएको उहाँले कटाक्ष गर्नुभएको छ। हवाई भाडा आम नागरिकको पहुँचबाहिर पुगेको पनि उहाँले बताउनुभएको छ। दसैँको भीड र सडक अवरोधलाई एयरलाइन्सले माग र आपूर्तिको नियम भने पनि यात्रुका लागि यो विवशतामा तिर्नुपर्ने मूल्य भएको उहाँको भनाइ छ।
सांसद अवस्थीले दिल्ली जान सस्तो तर आफ्नै सुदूरपश्चिम पुग्न महँगो भएको भन्दै सुदूरपश्चिमलाई दिल्लीभन्दा नजिक बनाइदिन अनुरोध गर्नुभएको छ। पहिले सडक सञ्जाल नहुँदा देशभित्रै एक ठाउँबाट अर्को ठाउँ जान भारत हुँदै जानुपर्ने अवस्था रहेको पनि उहाँले सम्झाउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचारमा भनेको ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ भन्ने वाक्य उद्धृत गर्दै उहाँले घर फर्कन सहज वातावरण बनाउन आग्रह गर्नुभएको छ।
उहाँले एयरलाइन्सलाई भाडा होइन विमान उडाउन र नागरिकको विवशताबाट नाफा नकमाउन आग्रह गर्नुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


