मेची राजमार्ग, इलाम, पाँचथर, धनकुटा र दाङमा राति सवारी रोक

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पूर्वका पहाडी जिल्ला र दाङमा रातको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज असोज ८ गते बेलुका ७ बजेदेखि ११ गते बिहान ५ बजेसम्म हरेक राति मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडक बन्द गर्ने सूचना जारी गरेको छ। दुवै सडक जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षाका लागि यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभएको छ।
अत्यावश्यक काम नपरे राति यात्रा नगर्न र काम परे नजिकको प्रहरीसँग समन्वय गरेर मात्र हिँड्न प्रशासनले आग्रह गरेको छ। पाँचथरमा पनि यही अवधिमा बेलुका ७ देखि बिहान ५ बजेसम्म तमोर करिडोर, मध्यपहाडी लोकमार्ग र भेडेटार–रबि–राँके सडकसहित सबै सडकमा आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभएको छ। धनकुटा प्रशासनले बिहीबारदेखि आइतबारसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म तमोर करिडोरसहित जिल्लाका मुख्य तथा सहायक सडकमा सवारी रोकेको छ।
दाङमा भने बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म तुलसीपुर–कपुरकोट, घोराही–होलेरी, घोराही–मुर्कुटी, भालुवाङ–गनाहा खोला र तुलसीपुर–कालीमाटी सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पाँचथर र धनकुटाका केही स्थानीय तहले २ दिन विद्यालय बिदा दिएका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


