९ असोज २०८३ English
English

पहिरोले कान्ति लोकपथ, पाल्पाका सडक र कालीगण्डकी करिडोर अवरुद्ध

· १ मिनेट पढाइ
पहिरोले कान्ति लोकपथ, पाल्पाका सडक र कालीगण्डकी करिडोर अवरुद्ध
तस्बिर: क्लिकमाण्डू

लगातारको वर्षासँगै खसेको पहिरोले ललितपुरको कान्ति लोकपथ, पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको कालीगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथको दुवैतर्फ आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। पहिरो हटाउन सडक विभागसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ।

पाल्पामा बुधबार रातिदेखिको अविरल वर्षाले तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र र माथागढी गाउँपालिका–१ को आर्यभञ्ज्याङ–रामपुर खण्डमा यातायात प्रभावित भएको छ। सिद्धबाबा क्षेत्रको ड्याम साइडमा अझै पहिरो झरिरहेको छ। प्रहरी चौकी दोभानका अनुसार चिदीपानीमा गुडिरहेको एउटा ट्रकमाथि पहिरो खस्दा ट्रकमा सामान्य क्षति भएको छ।

पहिरो पन्छाउन दुई वटा डोजर लगाइएका छन्। पाल्पाका केही स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने तिनाउलगायत नदीको सतह बढेको छ। गुल्मीको हर्मिचौर–पूर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि बुधबार रातिदेखि कालीगण्डकी करिडोर बन्द छ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने बताउँदै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्नुभएको छ। सडक बन्द हुँदा लामो र छोटो दूरीका सवारीसाधन चल्न नसक्दा यात्रु अलपत्र परेका छन्। जल तथा मौसम विज्ञान विभागले भोलि पनि लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ।

यो समाचार भिडियोमा

पहिरोले कान्ति लोकपथ, पाल्पाका सडक र कालीगण्डकी करिडोर अवरुद्ध

स्रोत

सम्बन्धित समाचार